नागरिक आवाज/बुटवल, ८ माघ ।
‘कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठान’बाट बर्तमान सरकारले स्व. भट्टराईको नाम हटाएको बिरोधमा नेपाल प्रेस युनियन रुपन्देहीले बिरोध गर्दै सरकारलाई ज्ञापन पत्र पठाएको छ । युनियन रुपन्देहीले बिहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
यस अगाडीको सरकारले नेपाल पत्रकार महासंघका संस्थापक तथा पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्झनामा ‘कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठान’ स्थापना गरेको थियो ।
वर्तमान सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको, प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएको भन्दै युनियनले आफ्नै इतिहास र गौरव मेटिने कदम नचाल्न सरकारलाई सचेत गराएको हो ।
‘पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले बजेटमार्फत नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरेको आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट वर्तमान सरकारले पूर्वप्रधानमन्त्री भट्टराईको नाम हटाउन लागेकोमा नेपाल प्रेस युनियन रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ–‘प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएकोमा युनियन घोर भत्र्सना गर्दछ ।’
सरकारले बजेटमार्फत सार्वजनिक गरेको कार्यक्रम व्यवस्थापिका–संसदले पारित गरेपछि ऐन सरह हुने र त्यसलाई मन्त्रिपरिषद्ले पनि परिवर्तन गर्न नसक्ने अवस्थामा मन्त्रीस्तरीय निर्णयबाट संशोधन गर्नु कानुन विपरित रहेको उल्लेख गर्दै आमसञ्चारकर्मीको ठूलो आशा र उत्साहका रुपमा आउन लागेको आमसञ्चार प्रतिष्ठान गठनले पूर्णता नपाउँदै पक्षपातपूर्ण राजनीति भए त्यस कार्यले सञ्चार क्षेत्रमा ठूलो निराशा उत्पन्न हुने निश्चित रहेको र यस्तो हर्कतले प्रतिष्ठान गठनको उद्देश्यमा समेत प्रश्न चिन्ह उठ्ने उल्लेख गरिएको छ ।
युनियन रुपन्देहीका सभापति बिक्रम खड्काद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मुलुकभरका आमसंचारकर्मीको भावनालाई मध्यनजर गर्दै सरकारले लिन थालेको सो निर्णय तत्काल सच्याउन माग गरिएको छ । अन्यथा बाध्य भएर आन्दोलनमा उत्रने चेतावनी समेत सरकारलाई दिईएको छ ।
सरकारले प्रतिष्ठानको नाम संशोधन गरी उहाँको नाम हटाए प्रजातन्त्रका धरोहर स्व. भट्टराईप्रति अपमान हुने मात्र नभई सिंगो पत्रकार महासंघकै इतिहास मेटिने दिशामा जाने भएकाले आफ्नै इतिहास र गौरव मेटिने कदम नचाल्न आग्रह गरिएको सचिव कबिन्द्र नेपालले जानकारी गराउनु भयो ।ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले सो ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता जनाउनु भयो ।
याे पनि पढ्नुस् :- भट्टराईको नाम हटाइएकोमा सर्वत्र विरोध,प्रेस युनियन आन्दोलित