नागरिक आवाज/बुटवल, २० जेठ ।
बुटवल नगरपालिकाका पुर्व उपप्रमुख बिमलबहादुर शाक्य नेपाली काँग्रेसको कार्यक्रममा सहभागि भई काँग्रेसका उमेद्वारलाई जिताउने अभियानमा आफू लागेको बताउनु भएको छ ।
नेपाली काँगे्रस बुटवलको १ नम्बर वडा समितिको प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा सहभागि हुनु भएका शाक्यले वडाध्यक्षका उम्मेदबार नरेन्द्र बस्नेत नेतृत्वको प्यानललाई सहयोग गर्ने बताउनुभएको हो ।
बिगतमा नेकपा एमालेको तर्फबाट बुटवलको उपप्रमुख बन्नुभएका शाक्यले तत्कालिन वडा अध्यक्षहरु रामेश्वर श्रेष्ठ र नरेन्द्र बस्नेतको कार्यकुशलताको प्रसंसा गर्दै यि दुई उम्मेदबारलाई आफुले हरसम्भव सहयोग गर्ने बताउनु भयो ।
तत्कालिन उपप्रमुख शाक्यसँगै बुटवल नगरपालिकाको वडा नम्बर १ बाट रामेश्वर श्रेष्ठ र वडा नम्बर ३ बाट नरेन्द्र बस्नेत वडाध्यक्ष भई काम गर्नुभएको थियो ।
बिगतमा आफु एमालेको कार्यकर्ता भएपनि हाल नेकपा एमालेबाट राजीनामा दिई आफु स्वतन्त्र नागरिकका रुपमा समाजसेवी भै रेडक्रस लगाएत बिभिन्न संघसंस्थामा क्रियाशिल रहेको पनि उहाँले बताउनु भयो ।
आफुसँगै काम गरेका नरेन्द्र बस्नेतलाई जिताउन आफुले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले रामेश्वर श्रेष्ठले नेपाली काँगे्रसबाट मेयरको टिकट पाएमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
साविक ३ नम्बर बुथ सभापति योगेन्द्रध्वज सिमांगैडाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका नेता रामेश्वर श्रेष्ठ प्रमुख अतिथि र पुर्व एमाले नेता शाक्य बिशिष्ट अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो ।
बुटवल उपमहानगरपालिकामा साविकका ३ वटा वडा गाभिएर बनेको नयाँ वडा नम्बर १ मा नेकाका तर्फबाट अघि सारिएका वडाध्यक्ष नरेन्द्र बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यालय उद्घाटन कार्यक्रममा नगर सचिब ज्योति भण्डारी ,बुटवल सामुदायिक बनका अध्यक्ष तथा पुर्व नगर सदस्य माधव प्रधानले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन साविकको २ नम्बर वडा सभापति लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो । नेपाल तरुण दलका क्षेत्रिय सदस्य मिन बिक लगाएतले उम्मेदबारहरुलाई शुभकामना प्रदान गर्दै शान्ति र समृद्धिका लागि नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।
पार्टीको प्रचार कार्यालय उद्घाटन संगै नेपाली काँग्रेस भोट माग्दै घरदैलोमा गएको छ । सो घरदैलोमा पनि उहाँ सहभागि भई काँग्रेसका उमेद्वारलाई भोट माग्नु भएको छ ।
कार्यक्रमकै बिचमा शाक्यलाई एमालेका जिल्ला देखि केन्द्रीय नेताहरुको फोन !
कार्यक्रमकै बिचमा उहाँलाई एमालेका जिल्ला देखि केन्द्रीय नेताहरुको फोन आएको थियो ।
उहाँले आफूले ८-९ महिना अंगाडी नै एमाले छाडिसकेको र आफूलाई त्यस बाहेकका पार्टीमा जान र राम्रा मान्छेको पक्षमा भोट माग्न कसैले पनि नरोक्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले नरेन्द्र बस्नेत जुन पार्टीको भएपनि समाजमा राम्रा काम गरेकाले उहाँको पक्षमा भोट मागेको बताउनु भयो ।