चितवन, २५ मंसिर–
नेकपा माओवादी केन्द्रका अध्यक्षप पुष्पकमल दाहाल प्रचण्डले चुनावको अन्तिम मतपरिणाम घोषणा भएपछि नयाँ सरकार गठनसँगै एमाले र माओवादीबीच पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्ने बताएका छन् ।
चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले तत्काल पार्टी एकताका लागि प्रक्रिया अगाडि बढाउने बताए ।
यो चुनावमा वाम गठवन्धनको जीतले नयाँ सन्देश दिएको भन्दै प्रचण्डले भने, ‘जनताले देशको समृद्धिका लागि वामपन्थी दल मिलेर जानुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले हामी अब एक भएर अगाडि बढ्छौं । छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने छ ।’
आफू मंगलवार काठमाडौं फर्किर पार्टी एकताका लागि छलफलमा जुट्ने उनको भनाइ छ । भागवण्डाका लागि गठवन्धन निर्माण नगरिएको भन्दै पद बाँडफाँटमा कुनै समस्या नहुने उनको भनाइ थियो ।