नागरिक आवाज/बुटवल, माघ १६ ।
संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीले नेपाली फौजले तत्कालिन अंग्रेज सेनालाई परास्त गर्न सफल भएको स्थान बुटवलको जितगढी किल्लामै सहिद दिवस मनाएको छ ।
राष्ट्रिय सहिद दिवसको अवसरमा संस्थाले नेपाली सेनाको बिरताको प्रतिकको रुपमा रहेको जितगढी किल्लामै कार्यक्रम गरी सहिद दिवस मनाएको हो ।
पहिलो पटक संयुक्त पुर्व सैनिकहरुको आयोजानमा जितगढीमा आयोजित सहिद दिवस कार्यक्रममा बोल्दै पाँच नम्बर प्रदेशका जेष्ठ सांसद तथा अस्थायी सभामुख वलदेव शर्मा पोखरेलले पछिल्लो समय दुई पक्षबीच हुने लडाईमा मृत्यु भएकाहरुलाई पनि सहिद घोषणा गर्न दवाव दिने कार्य बढेर गएको भन्दै त्यसले मुलुक र मुलुककोलागि संघर्ष गर्दा प्राणको आहूती दिएका सहिदप्रति अपमान भएको बताए ।
मुलुकमा जे नहुनुपर्ने हो त्यही त्यही हुने गरेको भन्दै उनले हुँदा हुँदा सडक दुर्घटनमा मृत्यु भएका व्यक्तिलाई समेत सहिद घोषणाको माग राखेर आन्दोलन हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणि गरे ।
अहिले मुलुकमा सहिदको संख्या हजारौको संख्यामा पुगेको भन्दै उनले सहिदको पुन परिभाषा गर्नुपर्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले राष्ट्र राष्ट्रियातको विषयमा गम्भिर हुनुपर्ने बेला आएको बताए ।
पुर्व सैनिकहरुले सहिद दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर उत्कृष्ठताको नमुना प्रस्तुत गरेको बताउदै उनले नेपालीहरुले युद्ध जितेको एक मात्रै किल्लालाई गुरुयोजना बनाएर अगाडी बढ्नुको विकल्प नभएको उल्लेख गरे । राष्ट्र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राणको आहुति दिने सहिदहरुले देखाएको बाटोमा हिड्न सकेमात्र सहिदहरुप्रति सम्मान हुने बिचार व्यक्त गरे ।
संयुक्त पुर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीका अध्यक्ष क्याप्टेन किशन बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रमा अर्याल राप्रपा राष्ट्रवादीका केन्द्रिय सह माहामन्त्री रुपसिं थापा,नेपाली कांग्रेस बुटवल उपमाहानगरपालिका सभापती खेलराज पाण्डे,नेकपा एमाले जिल्ला कमिटी सदस्य तेजेन्द्र केसी,संयुक्त कल्याणकारी संस्था माहासंघका सह अध्यक्ष डा.लक्ष्मीकान्त पाण्डे,बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्र लाकौल,मणिमुकुन्द सेन उद्यान फुलबारीका अध्यक्ष खेम लुइटेल,संयुक्त पुर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीका उपाध्यक्ष कुलबहादुर केसी,माहासचिव पुरन साही लगायतले सहिद दिवसको महत्व र कर्णेल उजिरसिंह थापाको युद्ध कोशलताको बारेमा प्रकास पारेका थिए ।
सो अवसरमा कर्णेल उजिरसिंह थापाको शालिकमा माल्यार्पण गर्नुका साथै पुष्प गुच्छा अर्पण गरीएको थियो ।सहिद दिवसकै अवसरमा संस्थाले सोमबार जितगढी किल्लाको सरसफाई गर्नुका साथै रंगरोगन समेत गरेको थियो ।