नागरिक आवाज/बुटवल, माघ २९ ।
मगर समुदायले लखन थापालाई प्रथम सहिदको दर्जा दिन माग गरेका छन् ।
सरकारले थापालाई प्रथम सहिद घोषणा गरे पनि अन्य सहिदलाई जस्तै उनलाई सम्मानका साथ स्थान दिन नगरिएको भन्दै अन्य सहिदहरुलाई जस्तै दर्जा दिन माग गरेका हुन् ।
फागुन २ गतेको सहिद लखन थापा दिवसलाई मध्यनजर गर्दै नेपाल मगर संघ, रुपन्देही र प्रथम सहिद लखन थापामगर अक्षयकोष, रुपन्देहीको संयुक्त आयोजनामा सोमबार बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै बक्ताहरुले राज्यले सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, र दशरथ चन्द ठाकुर बराबरको सम्मान लखन थापालाई दिन माग गरेको हो ।
नेपाल मगर संघकी रुपन्देही अध्यक्ष गीता शारु मगरले सहिद लखन थापाको सम्मानप्रति राज्य गम्भीर बन्न नसकेको आरोप लागाएकी छन् ।
उनले त्यस प्रति आफुहरुको ध्यानाकर्षण भएको भन्दै सोमबार नेपाल मगर संघका देशैभरीका शाखाहरुका प्रतिनिधिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइन् ।
त्यस्तै प्रथम शहीद लखन थापामगर अक्षयकोष रुपन्देहीका अध्यक्ष माथवर सिंह सलामीले सहिद लखन थापा मगरको शालीक काठमाडौंको शहिद गेटमा अन्य चार सहिद संगै हुनुपर्ने, सहिद लखनको फेटो स्थानिय, प्रादेशीक र संघिय तिनै तहका कार्यालयमा हुनुपर्ने, उनको जिवनीलाई बिद्यालयकोृ पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने तथा उनको स्मृतिमा फागुन २ गते सार्वजनिक विदाको घोषणा गर्नुका साथै उक्त दिन देखी सहीद सप्ताह सुरु हुनुपर्ने माग सहित पटक पटक आवाज उठाउदा समेत त्यसको सुनुवाई हुन नसकेको बताए ।
साथै उनले लखन थापा दिवसको अवसरमा फागुन २ गते बुटवलको राजमार्ग चौराहमा आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण जिल्लावासीलाई सहभागिताको लागी आग्रह समेत गरेका छन् ।