कपिल ज्ञवाली/बुटवल,फागुन १ ।
५ नम्बर प्रदेशको सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।
सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेको हो ।
भोलीको बैठकमा प्रस्ताबकले प्रस्ताब र समर्थकले समर्थन गरेपछि जेष्ठ सदस्यले घर्तीलाई स्वतहः सभामुख घोषणा गर्नेछन् ।
प्रदेश ५ मा बामकोे बहुमत छ र दुई दलको सहमति अनुसार घर्तीले उम्मेदवारी दिएका हुन् ।
भोलिको बैठकमा जेष्ठ सदस्य बलदेब शर्मा पाखरेलले घर्तीलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश ५ को सचिवालयले जनाएको छ ।
आज माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले प्रदेश सचिबालयमा उम्मेदवारी दर्ता गराए ।
प्रदेश नम्बर ५ मा वाम गठबन्धनको बहुमत छ । ८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् ।
संसदको तेश्रो शक्ति कांग्रेस र अरु दलहरुले सभामुखमा उम्मेदवारी दिएनन् ।
घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने बताए । उनले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि सबै दलहरुलाई एकैसाथ लिएर अघि बढ्ने समेत बताएका छन् ।
‘घर्तीको एकल उम्मेदबारीपछि भोलीको प्रकृया छोटो हुने भो,आधिकारीकता मात्रै भोली हुनेछ ।’ प्रदेशसभा सचिब सुरेन्द्र अर्यालले नागरिक आवाजसंग भने ।
सभामुख बनेका घर्ती को हुन् ?
माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउपालिका–९ रुकुममा ०२४ असार २९ मा जन्मिएका हुन् ।
वीरबहादुर र जयकली घर्तीका छोरा उनी ०३६ सालबाट राजनीतिमा लागेका थिए ।
प्रदेश ५ को सभामुखमा पूर्ण घर्तीको उम्मेदवारी