विकास गौतम /फागुन २३ , कपिलवस्तु
भारतीय मालवाहक सवारीहरुले निर्वाध रुपमा ओभरलोड सहित नेपालमा ढुवानी गर्ने विषयलाई नियन्त्रण गर्न बाणगंगाा यातायात व्यवसायी समितीले माग गरेको छ ।
भारतीय ट्रकहरुले ओभरलोड सहित नेपालमा ढुवानी गरेको विषयमा आफुहरुले पटक पटक प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदा समेत पनि प्रशासनले मौनता देखाएको भन्दै समितीले उक्त कार्य तत्काल रोक्न माग गरेको छ ।
बाणगंगाा यातायात व्यसवायी समितीका महासचिव लक्ष्मण भुषालले एक विज्ञप्ति जारी गर्दै भारतीय ट्रकहरुको ओभर लोड नियन्त्रण नगरे आफुहरु कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्ने उल्लेख गरेका छन् ।
जारी विज्ञप्तिमा भारतीय सवारीहरुले अत्याधीक भारवाहन सहित ढुवानी गर्दा सडकसंरचनाहरु कमजोर बन्दै गैरहेको र नेपाली गाडीहरुले काम नपाउने सम्मको स्थिती आएको उल्लेख छ ।
ओभरलोड नियन्त्रण कार्यको लागी नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागद्धारा मालवाहक सवारीको भारवहन सम्बन्धि कार्यविधी २०७१ जारी गरिएपनि सम्बन्धित नियायले कार्यन्वयमा मौनता देखाएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ “ नेपाल सरकार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा, प्रहरी नायव महानिरिक्षक, यातायात व्यवस्था विभागका निर्देशक, भन्सार विभागका निर्देशक लगायतको उपस्थितीमा गत मंसिर २४ गते भएको भारतीय मालबाहक ट्रकको भारवाहन व्यवस्थापनका विषयमा बैठक बसी भएका निर्णयहरुको कार्यान्वयन नभएको भन्दै तत्काल निर्णय कार्यन्यवयन गर्न माग गरिएको छ । ”
जारी विज्ञप्तिमा ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आफुहरुले पटक पटक भारमिलान कार्यविधि कार्यन्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको भन्दै भारवाहन कार्यविधि कार्यन्वयन नगरीए सङ्र्घषका कार्यत्रमहरु गरिने उल्लेख गरिएको छ ।
भारवाहन मिलान नेपाली ट्रकहरुमा मात्र लागु भएको र भारतीय सवारीहरुले मनपरी ओभरलोड सहित ढुवानी गर्दा दैनिक करोडौ राजस्व छली भएको साथै नेपाली व्यवसायीहरुले काम नपाउदा अरबौको लागत भएको यातायात व्यवसाय नै धरासायी बन्ने अवस्था सिर्जना भएको उल्लेख छ ।
विज्ञप्तिमा ढुवानीका साधनहरु संचालन गर्ने सवालमा राज्यबाट बस्तुगत तथ्यलाई नजरअन्दाज गरिदिदा नेपाली व्यवसायीहरुलाई समस्या परेको भन्दै ओभरलोड नियन्त्रणमा सम्बन्धित निकायको ध्यान नगएमा थप आन्दोलनका कार्यक्रम सहित कडा भन्दा कडा आन्दोलन गरिने उल्लेख गरिएको छ ।