नागरिक आवाज/२१ मंसिर ,बुटवल ।
लेखक सरिता अर्यालको पुरुष कथा संग्रहबारे बुटवलमा समिक्षा गरिएको छ ।
रेडियो जागरण बुटवल र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा बुटवलका लेखक, साहित्यकार, अधिकारकर्मी एंव पत्रकारहरुका विच पुस्तकले समेटेको कथा र बिषयका बारेमा चर्चा गरिएको हो । कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यर्थाथ कथालाई समटेकी छन ।
कार्यक्रममा बोल्दै लेखक सरिता अर्यालले समाजमा जे देखियो त्यहि कथालाई पुरुषमा समावेश गरिएको बताईन । उनले आफू पत्रकारिताको पृष्ठभूमीबाट आएकाले पुरुषमा लेखिएका कथाहरु यर्थाथ घटनामा आधारित रहेर लेखिएको बताईन ।
उनले आफूले अर्को कृति प्रकाशन गर्ने वाचा पनि गरिन । परिचर्चा कार्यक्रममा पूर्व सभाषद एंव रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले पत्रकारितामा लामो समयको अनुभवपछि साहित्य मार्फत समाजका समस्या र विकृति ल्याउने प्रयास गरेको भन्दै लेखक अर्यालको सराहना गरेका थिए ।
उनले पुरुष नेपाली समाजमा नारीहरुले भोगेका समस्या र यर्थाथ घटनामा केन्द्रीत कृति भएकाले यस्ता कृतिलाई पाठकहरुले पढ्नुपर्ने बताए ।
कार्यक्रममा पुरुष कथासंग्रह माथि साहित्यकार एंव लेखक ऋषि आजादले टिप्पणी गर्दै यसले नेपाली समाजमा नारीहरुले भोग्नुपरेका समस्या र पुरुषले गरेको दमनका बारेमा ब्याख्खा गरिएको बताए । उनले पुरुष कृतिले यौन बिषयलाई केन्द्रमा राखेर केही अपराधि पुरुषको डरलाग्दो षडयन्त्र र यौनशोषणको पर्दाफास गरेको उल्लेख गरे ।
अर्का टिप्पणीकार गिरी श्रीषले पागल पुरुषसत्ताका कारण महिलाहरुले भोग्नुपरेको समस्या उजागर कृतिले गरेको बताए । तर उनले साहित्यलाई ऐनाको रुपमा मात्रै नभई बत्ती बन्नुपर्ने बेला आएको टिप्पणी गरेका थिए ।
पत्रकार एंव बुटवल साहित्य परिषदका अध्यक्ष दीपक ज्ञवालीले २३ अंकमा ब्याख्या गर्दै समाजको चित्र पुस्तकमा भेटिएको बताए । उनले १६ वटा कथा समेटिएको पुरुषमा सुगर ड्याडी कथालाई उत्कृष्ट भनेर टिप्प्णी गरे । अर्का समिक्षक मिनांक्षी न्यौपानेले पुस्तक किशोरीहरुलाई जन्म दिनमा उपहार दिने खालको रहेको बताईन । उनले नेपाली समाजको यर्थाथता पुस्तकम भेटिएको उल्लेख गर्दै निरन्तर सृजनामा लाग्न आग्रह गरिन ।
साहित्यकार एंव लेखक दीपक विश्वकर्माले कुनै बेला जीवनको उर्जाशिल समय प्रवासमा विताउनुपरेको भन्दै साहित्यले समाजलाई परिवर्तन गराउने बताए ।
पत्रकार विनोद परियारको सञ्चालनमा भएको पुस्तक समिक्षा कार्यक्रममा बुटवल क्षेत्रका साहित्यकार, अधिकारकर्मी, पत्रकार तथा विद्यार्थीहरुको सहभागिता थियो ।
अर्याल २०५४ सालदेखि पत्रकारिता र लेखनकार्यमा क्रियाशिल छिन । पुरुष कथा संग्रहको दोस्रो संस्करण प्रकाशन भई बजारमा आएको छ । अर्यालले यसअघि फर्केर हेर्दा नामक कृति प्रकाशन गरिसकेकी छन । पुस्तक बिएन पुस्तक संसारले प्रालीले बजारमा ल्याएको छ ।