नागरिक आवाज/२९ माघ बुटवल-
प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यको हेरफेर गरिएको छ ।
प्रदेशसभाको मंगलबार बसेको बैठकले रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आर्चायको ठाउँमा बाँकेका बाबुराम गौतम र बर्दियाको दिपेश थारूको ठाउँमा रुकुुमका तेजप्रसाद ओलीलाई राखेको हो ।
१५ सदस्यीय सो समितिले तीन महीनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्ने भनिए पनि करीब पाँच महिना बितिसकेको छ ।
प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिको नाम हेरफेरको विषयलाई लिएर केही दिनअघि नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सञ्चालन गर्न अवरोध खडा गरेको थियो ।
त्यस्तै मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश ५, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिँदै सांसद नारायणप्रसाद आर्चायले उत्खनन क्षेत्रमा जटिलता भएको उल्लेख गर्दै वातावरणीय पक्षलाई ध्यान दिएर खानी उत्खनन गर्न आग्रह गरे ।
सांसद डिल्ली चौधरीले उत्खनन गर्दा पानीको स्रोतलाई बचाउनुपर्नेमा जोड दिँदै खानी उत्खनन गर्दा पहिलो प्रयोगकर्ता स्थानीय हुनपर्ने बताए ।प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पानीको मुहान संरक्षण गर्ने बताए ।