नागरिक आवाज/ बुटवल, फागुन १-
आज फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोेह थालेको दिन । विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २४ औं जनयुद्ध दिवश मनाउदैछन ।
विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।
२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो ।
शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन ।
विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरुले आज विभिन्न जिल्लामा एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवस मनाउँदै छन भने काठमाडौंमा भिन्दाभिन्दै कार्यक्रम हुदैछन ।
बिप्लब नेतृत्वको नेकपाले जनयुद्ध दिवसको अवसरमा लुम्बिनी व्यूरोअन्तर्गत बुटवलमा हजारौ कार्यकता उतार्ने तयारीमा नेकपा रहेको पार्टीले बताएको छ । जनयुद्ध दिवसको अवसरमा सबै अन्य घटकहरुलाई समेत बोलाएर क्रान्तिको प्रतिबद्धता व्यक्त गर्न पार्टीका विशेष नेताहरुले सो कार्यक्रम सम्बोधन गर्नेछन् ।