नागरिक आवाज/८ असोज, बुटवल ।
अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।
सोमबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु २ महिनाभित्र संशोधन भइसक्ने बताए ।
‘अब के गर्नुपर्यो लगानीमैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं’ उनले भने ‘कानूनहरु संशोधनको अवस्थामा छन् । छिटै एक-दुई महिनामा संसदको विचाराधीन अवस्थामा पुग्नेछन् । संसदले पास गर्छ ।’
लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्द्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरु संशोधन भएर लगानीमैत्री वातावरणमा जाने अर्थमन्त्री खतिवडाले जानकारी गराए ।
उनले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने बताए । अहिले देखिएको बैंक ब्याजदर महंगो हुने समस्या धेरै नरहने अर्थमन्त्री खतिवडाले बताए ।
प्रदेश नम्बर ५ का उद्योग, बन, वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीले प्रदेशको राजधानी रहेको बुटवलमा सोको स्थायीत्वका लागि महत्वपूर्ण योगदान दिएकोमा प्रसंशा व्यक्त गदै प्रदेश सरकारले आफनो भौतिक संरचना बनाए पछि उद्योगी व्यवसायीका संरचना फिर्ता गर्ने समेत बताउनु भयो ।
प्रदेश उपसभामुख कृष्णी थारुले यस क्षेत्रको सबैभन्दा पुरानो र व्यवसायीहरुको छाता सस्था बुटवल उद्योग वाणिज्य संघले आफनो भवन प्रदेश सभालाई उपलब्ध गराएर संघियता कार्यान्वयनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले प्रत्येक सरकारले राजश्वलाई सफलताको आधार बनाउने परिपाटीको अन्त्य गरी उत्पादनलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
उहाले निजी क्षेत्र नाफामुखी भयो भन्ने सुनिन्छ तर नाफा नभए रोजगारी र राजश्व हुदैन, त्यो बिना देश नै चल्दैन त्यसैले नाफालाई गर्वका रुपमा लिउ भन्नुभयो ।
महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले दुई तिहाईको सरकार बन्दा पनि सुशासन, शान्ति सुरक्षा सहित लगानीको वातावरण बन्न नसकेको उल्लेख गर्दै सरकारमा अर्थमन्त्रि एक्लो बृहस्पती बन्नुहुने होकि भनि प्रश्न गर्नुभयो ।
अर्का उपाध्यक्ष चन्द्र ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन बनेपछी व्यवसायी र मजदुर बिच सम्वन्ध सुधार भएको बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका प्रदेश सभा संसदीय दलको नेता बलदेव शर्मा, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमा आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, संघका पुर्वअध्यक्ष अर्जुनमान सैजू, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।