नागरिक आवाज/९ असोज, बुटवल ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को विशेष साधारणसभा सम्पन्न भएको छ ।
विशेष साधारण सभाले १ : ०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने र एक कित्ता भन्दा कममा रहेका संस्थापक-सर्वसाधारण शेयरधनीहरुलाई कम्तीमा एक कित्ता हकप्रद शेयर प्रदान गर्ने निर्णय गरेको छ ।
साथै विशेष साधारण सभाले संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा उल्लेख भएको पु“जी संरचनामा संशोधन गर्ने र हकप्रद शेयर आवेदन गर्ने हक जुन समूहको शेयरधनी संस्थापक-सर्वसाधारणको हो सोहि समूह अन्तर्गत भर्न हक हस्तान्तरण गर्न दिने समेत निर्णय गरेको छ । यसरी हकप्रद शेयर निश्कासन भए पश्चात संस्थाको चुक्ता पुँजी रु. ९८ करोड २५ लाख पुग्ने भएको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री माणिकरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले स्वागत मन्तव्य राख्दै हकप्रद शेयर जारी गर्नु पर्ने आवश्यकता वारेमा विस्तृत रूपमा प्रकाश पार्दै हकप्रद शेयर जारी पश्चात पुँजीकोषमा सुधार एवं पुँजीको अवस्था सुदृढभई संस्थाको व्यवसाय विस्तारमा ठूलो मद्त मिल्ने बताउनु भयो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री माणिकरत्न शाक्यले सभामा विशेष प्रस्ताव र संस्थाको आ.व.२०७४÷७५ को आषाढ मसान्तसम्मको संक्षिप्त प्रगति विवरण पेश गर्दै संस्थाले हकप्रद शेयर जारी गरे पश्चात नियमन व्यवस्था अनुसार न्यूनतम पु“जीकोष कायम भै शाखा सञ्जालको विस्तारबाट व्यवसाय विस्तार गर्न सघाउ पुग्ने धारणा राख्दै संस्थाले आगामी दिनमा अझ सुदृढ ढंगले व्यवसायीक रूपले प्रतिस्प्रर्धी भई कार्यगर्ने विश्वास व्यक्त गर्नु भयो ।
सोही अवसरमा नेपाल सरकारको तर्फबाट सभामा प्रतिनिधित्व गर्नु भएका आन्तरिक राजस्व कार्यालय ,भैरहवाका प्रमुख कर अधिकृत श्री अर्जुन ढकालले नेपाल सरकारको गरिबी निवारण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले महत्वपूर्ण भुमिका निर्वाह गरेको कार्यको प्रशंसा गर्दै विषेश साधारण सभाको सफलताको कामना गर्नु भयो ।
लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रूपमा इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आ.व. २०७४÷७५ को आषाढ मसान्तसम्म देशका ५७ जिल्लामा रहेका १८८ वटा शाखा कार्यालयहरू मार्फत ३५८ विभिन्न स्थानिय तहमा सेवा प्रदान गर्दै आईरहेको छ ।