नागरिक आवाज/असाेज १२ ,बुटवल –
पूर्वाधारको विकास विना पर्यटनको संभावना भएतापनि पर्यटक भित्राउन नसकिनेमा सरोकारवालाले जोड दिएका छन ।
बुटवल र यसको वरपरको क्षेत्रमा पर्यटनका प्रसस्त संभावना भएता पनि पूर्वाधारको अभावले भएका अवसरलाई सदुपयोग गर्न नसकिएको उनिहरुले औल्याएका छन ।
३९ औं विश्व पर्यटन दिवशको अवसररमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बुटवललाई पर्यटकीय जोनका रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
उनीहरुले बुटवलमा संचालित संघ सस्थाहरु मिलेर सामुहिक रुपमा दीर्घ कालिन गुरुयोजना बनाएर पर्यटनको विकासमा जुटनु पर्ने धारणा राखेका छन ।
रुपन्देही जिल्लामा एतिहासिक, साँस्कृतिक, भौगोलीक, प्राकृतिक हिसावले धेरै धनि भएता पनि विकास हुन नसक्नु दुखद् विषय भएको भन्दै वक्ताहरुले पर्यटनको विकासमा प्रदेश सरकारले स्पष्ट नीति तर्जुमा गर्न माग गर्नु भयो ।
कार्यक्रममा पूर्व सांसद विनोद पहाडीले पर्यटनको विकासका लागि स्थानिय तहको सरकार जिम्मेवारी हुन नसकेको आरोप लगाउदै अवसर भएर मात्र नहुने त्यसलाई कार्यान्वयन गर्ने र गराउने नै स्थानिय तह भएको धारणा राख्नु भयो ।
उहाँले बुटवलमा बहुसांस्कृतिक पार्क बनाउन सकेमा विश्वका पर्यटकलाई भित्राउन सकिने र यस क्षेत्रमा आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नु भयो ।
होटल व्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष माधव नेपालले बुटवलमा पर्यटक भित्राउनका लागि एैतिहासिक जितगढी किल्ला देखि मणिमुकुन्द पार्कसम्म सुरुङमार्ग निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । सुरुङमार्ग निर्माण गर्न सकेमा बुटवलमा पर्यटक भित्राउन सकिने भन्दै उहाँले बुटवलको मात्र नभई सिंगो रुपन्देहीको आर्थिक रुपले कार्यापलट हुने दावि गर्नु भयो ।
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पर्यटकीय क्षेत्रको विकास र यसले देखाएको सम्भावनालाई मुर्तरुप दिनका लागि संघ सस्थाहरु बिचमा एकता, समन्वय र सहकार्य जरुरी रहेको धारणा राख्नु भयो।
अध्यक्ष जिसीले गौतमबुद्ध जन्मस्थल लुम्विनी, मावली देवदह, एतिहासिक महत्व बोकेको तिलोत्तमा, शंकरनगर बनबाटिका, सैनामैना रानीकुवा, बोमलबामधाम, गजेडिताल, जितगढी किल्ला, एतिहासिक उजिरसिंह, फुलबारी, पिसपार्क, रामापिथेकस क्षेत्र, हिलपार्क, नुवाकोट, बसन्तपुर, सिद्धबाबाको प्रचार प्रसार र संरक्षण जरुरी रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष वाबुराम वोहोरा, उद्योग वाणिज्य संघ बुटवलका पर्यटन समितिका संयोजक दिनेश श्रेष्ठ, संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहकार गोपाल राना मिलन पार्क विकास समिति अध्यक्ष सावित्रा रेग्मी संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ महासचिव माधव कुमार खनाल लगाएतले पर्यटनको विकासका लागि बुटवललाई उज्यालो शहर घोषणा गरी चौविसै घण्टा व्यापार व्यवसाय खुल्ला हुने व्यवस्था मिलाउन माग गर्नु भयो ।