नागरिक आवाज/बुटवल, कार्तिक ११ ।
बुटवल–११ देवीनगरस्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिकसाधारण सभा तथा चौथों अधिवेशन बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता तथा बुटवल उप–महानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै क्षेत्रीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । उनले मुलुकको आर्थिक अवस्था चलाएमान गराउन सहकारीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
त्यस्तै सहकारीका अध्यक्ष न्यौपानेले छिट्टै सहकारीका शेयर सदस्य वृद्धि गरी १ हजार ५० जना पु¥याइने बताए । अहिले सहकारीका शेयर सदस्य ९५६ जना रहेका छन् ।
कार्यक्रममा बुटवल ११ का वडा सदस्य तथा पथ प्रदर्शक बचत तथा ऋण सहकारीका प्रतिनिधि रणबहादुर थापा, जनप्रतिनिधिहरु सुस्मा अर्याल, माया दर्नाल, नकूल शाही, शेयर सदस्यहरु यामलाल पोखरेल, लक्ष्मी आचार्य, निर्वाचन मण्डलका संयोजक जीवलाल बस्याल सदस्यहरू कल्पना आचार्य, मनोहर शर्मा लगायत बोलेका थिए ।
सहकारीको शेयर पूँजी १ करोड ५० लाख, बचत ८ करोड र लगानी ८ करोड ५० लाख रूपैयाँ रहेको सहकारीका कोषाध्यक्ष लोकराज शर्माले जानकारी दिए । सहकारीले अहिले कार्यालय स्थान नजिकै दवीपथमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्न लागेको शर्माले बताए ।
सहकारीको उपाध्यक्ष पूर्णानन्द गिरीको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसर शेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थी र सहकारीका व्यवस्थापक कमला पोखरेललाई सम्मान समेत गरिएको थियो । अधिवेशनबाट सहकारीले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।