+
Search

ताजा अपडेट +

पपुलर +

‘रुद्राक्ष’ एक भोजपुरे चिनारी

‘रुद्राक्ष’ एक भोजपुरे चिनारी

प्रदिप चन्द्र राई
२०८२ बैशाख २५, बिहीबार ०७:५४ गते

भोजपुरको दिङला भन्ने ठाउँ सुन्नु भएकै होला । जानु भएको छ? यदि जानुभएको छ भने तपाईको आगमनसंगै यहाँको रुद्राक्षले तपाईलाई स्वागत गरिरहेका हुनेछन् । अतिथि सत्कार पनि बढो गज्जबको छ । रुद्राक्षको माला र हत्केलामा रुद्राक्षका चुरा पहिरिएपछि मात्रै तपाईको स्वागत हुन्छ । हेर्दा अनौठो लाग्न सक्छ, तर यो सत्कार निकै भिन्न र स्वादिलो छ । वास्तवमा यसरी रुद्राक्षले तपाईलाई सत्कार गर्नु यहाँको विशेषता हो । यस्तो सत्कार गर्न पाउँदा दिङलाबासी, भोजपुरबासी अहोभाग्य ठान्दछन् । किनकी भेटघाट होस् या विदाई । चिनोको रुपमा रुद्राक्षको माला दिईन्छ । जसले मन प्रफुल्लित गराउन सक्छ । भोजपुरको आतिथ्यताले तपाईलाई लोभ्याउन सक्छ ।
डेढसय वर्षअघि ज्ञानको ज्योति फैलिएको उर्वर भूमि हो, भोजपुर । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा वि.सं. १९३२ सालमा बालागुरु षडानन्द अधिकारीले भोजपुरको दिङलास्थित कैलाशडाँडामा सर्वसाधरणका लागि सँस्कृत पाठशाला खोले । शिक्षाको मुहान ल्याए । तिनै बालागुरु षडानन्दले सुरुवात गरेको ‘रुद्राक्ष’ पनि आज प्रख्यात छ । अहिले देशविदेशमा खुकुरीपछि रुद्राक्ष भोजपुरको चिनारी बन्न थालेको छ ।
हिन्दु धर्ममा ‘रुद्राक्ष’ लाई शुभताको प्रतिक मानिन्छ । भगवानको शिवको आर्शिवादको रुपमा धर्मालम्बीहरु यसलाई लिने गर्छन् । विभिन्न धार्मिक उत्सव, मेला, तीर्थयात्रामा भगवान शिवलाई चढाईने, आद्यात्मिक आस्थाको रुपमा सुशोभित हुने पहिरन, मन्दिरका ढोकाझ्यालमा कुँदिने बुट्टा, भक्तजन, साधुसन्त, अघोरी, धामीझाँक्रीहरुको गला, शरिरमा गहना, मालाका रुपमा सज्जिने रुद्राक्षको महत्व र मूल्य उत्तिक्कै छ । हिजोआज रुद्राक्ष अतिथिको सत्कार, पुजाका सामाग्री, सजावटको रुपमा पनि प्रयोग हुन्छ । भोजपुरको रुद्राक्षको माग विभिन्न देशहरु निर्यात हुन थालेको छ ।
बहुउपयोगी रुद्राक्षका प्रमुख विशेषतामा यसका दाना, पात, बोक्रामा औषधीय गुण पाईने, बोटमा कीट, पात वा पशुचौपाया कसैले पनि हानीनोक्सानी नपुर्याउने, यसको बोट करिब ५० देखि ६० फिटसम्म अग्लो र छायाँ तथा विभिन्न आकृतिमा मुख भएका सानाठुला आकारका फल दिने, बोटमा कहिल्यै ऐँझेरु नलाग्ने, कलमी गरेर बिरुवा सार्न पनि नसकिने, चराचुरुङ्गीले गुँड पनि नलगाउने र रुद्राक्षको जरा भएको ठाउँमा मुसा, भ्यागुता, सर्प पनि बस्दैनन् ।
राम्रो मूल्यमा किनबेच हुने रुद्राक्ष भोजपुुर जस्ता मध्य पहाडी क्षेत्रमा पाईने एउटा वनस्पति रुख र यसमा फल्ने फल हो । एउटै बोटमा एकपटकमा धेरै फलहरु (दाना) लाग्दा विभिन्न मुख (दानाको माथिल्लो भागबाट झरेका रेखा), आकार र विभिन्न नापका दानाको स्वरुपमा रुद्राक्ष फल्ने गर्दछ । विशेषगरि धार्मिक आस्था, आयूवेर्दिक औषधी र विभिन्न प्रयोजनका मूल्यवान बनेको रुद्राक्ष भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानीको श्रोत हो । विशेषगरि उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका अधिकांश क्षेत्रमा मुख्य आम्दानीको रुपमा रुद्राक्ष खेती गरिन्छ ।
आयूर्वेद जानकारहरुका अनुसार रुद्राक्षको पात औषधीय गुणले भरिएको हुन्छ । रुद्राक्षको कलिलो पातको प्रयोगले बाथ तथा कफ आदिबाट सुरक्षा गर्दछ । पाकेको (पुरानो) पातलाई चूर्ण बनाई बालबालिकालाई दूधको साथमा नियमित दिँदा आँखाको ज्योती बढाउने, बोल्दा अप्ठ्यारो हुने, अड्किएर बोल्ने तथा स्मरण शक्ति सुष्त छ भने त्यो पनि निको हुन्छ । महिलाहरुमा रजस्वलाको गडबडी, सन्तान उत्पादनमा समस्या छ भने रुद्राक्षको पातको चूर्ण तथा मिस्रि मिलाएर नियमित सेवन गर्नाले यी समस्याको हल हुने पनि विश्वास छ । त्यस्तै पुरुषमा प्रजनन क्षमताको कमी छ भने रुद्राक्षको चन्दन घोटेर दूधसंग सेवन गर्नाले नपुंसकता हटेर जान्छ ।
आद्यात्मिक आस्था संगसंगै रुद्राक्षलाई आयूवेर्दिक औषधीका लागि बढि उपयोगी मानिन्छ । उष्ण एवम् अम्लयुक्त भिटामिन ‘सि’ तत्व पाईने भएकोले रुद्राक्षको बोक्रा, पातको चूर्ण सेवनले बाथ, कफ रोग हटाउने, रगत बढाउन, सफा गर्ने, रक्तविकार नाश गर्न, रक्तचाप, मृगी (छारे रोग), स्वप्नदोस, छालाको रोग जस्ता विकारहरु क्रमिक रुपमा ठिक हुने जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख डा. सर्वेन्द्रप्रसाद यादव सुनाउँछन् । भने, ‘प्राकृतिक औषधोपचारका लागि वरदान मानिने रुद्राक्षको बोक्रा, पात पिसेर, रुद्राक्षको बिँया कुटेर चूर्ण बनाई नियमित सेवन गर्नाले शारिरीक तथा मानसिक रोगहरु निर्मूल हुन्छन्’ योग वैद्य एवम् आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्षको धारणबाट दरिद्रता नाश हुने ग्रहदशा, उच्च रक्तचाप, भूतबाधा, शारिरीक दुर्बलता, पेटको समस्या निवारण गर्ने विश्वास छ ।
संस्कृत भाषाको शाब्दिक ‘रुद्र’ अर्थात भगवान शिव र ‘अक्ष’ अर्थात अश्रु (आँशु) बाट रुद्राक्ष बनेको हो । हिन्दुधर्म अनुसार रुद्राक्षलाई शाब्दिक अर्थमा भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । बालागुरु षडानन्दले आफ्नो गीता, ज्योतिष तथा वेदादीको अध्ययनको क्रममा भारतको बनारसबाट फर्किँदा केहि रुद्राक्षका बिरुवा ल्याई आफ्नो जन्मथलो दिङलामा विस्तार गरेपछि रुद्राक्ष फैलिएको षडानन्द सिताराम गुठीका अध्यक्ष प्रकाश पौडेल बताउँछन् ।
‘गुरुले आफ्नो सँस्कृत विद्याका क्रममा जनकपुर, भारतका बनारस, काशी, विभिन्न ठाउँहरु पुग्नुभयो, फर्कदा रुद्राक्षका केहि बिउ ल्याएर उहाँको यो जन्मथलोमा रोप्नुभयो, यहीँबाट रुद्राक्षको विस्तार भयो’ उनी सुनाउँछन् । उनका अनुसार गृहशान्ति, ग्रहशान्ति, अध्ययनशील कार्य, शुभकार्यमा पनि ग्रह, राशीअनुसारका मुखादार रुद्राक्षको धारणले फलदायी रहने गरेको छ ।

एकमात्र आम्दानीको श्रोत
डेढसय वर्षअघि बालागुरु षडानन्दले विस्तार गरेको रुद्राक्ष कालान्तरमा आएर यसको उपयोगिता अझ बढेर गएको छ । चिनियाँहरु किमाथाङ्का नाका हुँदै दिङलाक्षेत्रका विभिन्न बजार र ग्रामीण किसानसम्म रुद्राक्ष खरिदका लागि पुग्ने गरेका छन् । विदेशीहरुको माग भएकाले पनि मनग्गे आम्दानीको श्रोत रुद्राक्ष जिल्लाका विभिन्न क्षेत्रमा पनि विस्तार हुन थालेको छ । बजार माग र उपयोगिता धेरै बढेकाले रुद्राक्षको बजारीकरण पनि फस्टाउँदो छ ।
रुद्राक्षका लागि षडानन्द नगरपालिकाको वडा नं. ५, चिउरीबोटे, वडा नं. ६ र ७ केउरेनीपानी क्षेत्रलाई राजधानी मानिन्छ । यी क्षेत्रमा जिल्लाकै सबैभन्दा धेरै रुद्राक्ष खेती हुन्छ । नगरपालिकाका करिब ४ हजार घरधुरीले व्यावसायिक रुद्राक्ष खेती गर्छन् । यसबाहेक साल्पासिलिछो गाउँपालिकाका सबैजसो भेगका बेसी क्षेत्रमा रुद्राक्ष खेती हुन्छ । जिल्लाका अन्य विभिन्न क्षेत्रहरुमा पनि रुद्राक्ष खेती सुरु गर्न थालिएको छ ।
दिङला क्षेत्रमा गरिने रुद्राक्ष खेतीबाट एक किसानले बार्षिक ५ देखि १० सम्म आम्दानी गर्ने गरेका छन् । ४, ५, ६ मुखे रुद्राक्षको गोलाई र गुणस्तर हेरेर प्रतिकिलो चार हजारदेखि १० हजारसम्म खरिद विक्रि हुने गरेको छ । व्यापारीहरु रुद्राक्षको मुख हेरेर मोलतोल गर्ने गर्छन् । दुईमुखे र २१ मुखे रुद्राक्षलाई २५ हजारदेखि ५० लाख माथिसम्म विक्रि हुने गरेको छ । भोजपुरमा उत्पादित रुद्राक्षमध्ये ७० प्रतिशत चिन र ३० प्रतिशत भारत निर्यात हुन्छ । रुद्राक्षको गुणस्तर, चिल्लोपना, ठुलो, गोलाई, मुखादार, बुट्टादारमा मोलतोल हुन्छ । यहाँको रुद्राक्ष आद्यात्मिक तथा सजावटका काममा बढि प्रयोजन हुन्छ ।

रुद्राक्षको रेखदेखमा सिसि क्यामेरा
पछिल्ला केहि वर्षमा रुद्राक्ष चोरी, अनैतिक गतिविधी बढ्न थालेपछि षडानन्द नगरपालिकाको दिङला क्षेत्रका किसानहरु रुद्राक्ष खेतीको सीसी क्यामराबाट निगरानी थालेका छन् । मुख्य खेती हुने क्षेत्रका किसानहरु रातको समयमा हुने जथाभावी अनैतिक गतिविधी र चोरी बढ्न थालेपछि घर र बगानमा सिसि क्यामेरा राख्न थालेका हुन् । दिङ्ला आसपासका करिब ४५ घरका किसानले सिसि क्यामेरा प्रविधीबाट रुद्राक्षको रेखदेख गर्दै आएका छन् । क्यामेराको निगरानीले रुद्राक्षको बगानमा हुने चोरी, अनैतिक क्रियाकलाप कम भएको छ ।
‘हाम्रो आम्दानीको श्रोत भनेको यहि एउटा रुद्राक्ष खेती हो । अन्य अन्नबाली हुँदैन । त्यहि एउटा खेती पनि बदमासहरुले दुःख दिन थालेपछि यो प्रविधि अपनायौँ ।’ स्थानीय प्रमेशचन्द्र नेपाल भन्छन्, ‘यो प्रविधि जडान गरेपछि रातभर बगान कुर्नुपर्ने झन्झट हटेको छ ।’ किसानको रुद्राक्ष बगानमा कोहि नभएको मौका छोपी रुद्राक्षका दाना झार्ने, चोर्ने, जथाभाबी रुद्राक्षका बोटहरु काटिदिने, रुखहरु पिल्साईदिने, चोटपटक लगाईदिने, बिरुवा भाँचीदिने, उखेलिदिने जस्ता क्षति पु¥याउने क्रियाकलापलाई न्यूनिकरण गर्न उक्त प्रविधी अपनाएका हुन् । यस्ता क्रियाकलापले पुग्ने क्षतिबाट रुद्राक्ष बगानका बोटविरुवा र दाना जोगाउन उक्त विकल्प रोजिएको हो । अहिले सिसि क्यामेरा जोडिएपछि घरभित्रै बसीबसी रुद्राक्ष बगानमा चोरी र बदमासी क्रियाकलापको निगरानी गर्न सहज भएको छ । ज्यालादारीमा रातभर बगान हेर्न हेरालु राख्दा पनि राम्रो रुद्राक्षको दाना हराउने हुनाले उत्तम विकल्पको रुपमा सीसी क्यामरा राख्नाले समस्याको हल भएको किसानहरु सुनाउँछन् ।

दिङलालाई जोन क्षेत्र बनाउने अवधारणा
१० वर्षे शसस्त्र द्वन्दको चपेटापछि रुद्राक्षले कायापलट दिएको उत्तरी दिङ्ला क्षेत्रमा स्थानीय सरकारले रुद्राक्ष खेतीलाई व्यावसायिकीन्मूख गराउने कदम चाल्दै आएको छ । षडानन्द नगरपालिकाले पनि दिङला क्षेत्रलाई रुद्राक्षको जोन क्षेत्र बनाएर लैजाने अवधारणा अघि सारेको छ । नगरले सिपमूलक नर्सरी र उन्नत जातको रुद्राक्ष बिउबिजनमा समेत किसानलाई समेटेर लैजाने नगरप्रमुख सुरेन्द्र उदास बताउँछन् । ‘हाम्रो नगरबासीको प्रमुख आयश्रोत नै रुद्राक्ष हो, आगामी वर्षहरुमा जिल्लाको एकमात्र जोन क्षेत्र बनाएर रुद्राक्ष खेती विस्तारका लागि कार्ययोजना बनाउने तयारीमा छौँ’ षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास भन्छन्, ‘यसका लागि प्रशिक्षकहरुबाट किसानलाई विभिन्न समयमा तालिम तथा कार्यशाला गोष्ठीहरुमा सहभागी गराउँदै आईरहेका छौँ ।’ नगरपालिकाले विभिन्न निकायको सहकार्यमा किसानलाई रुद्राक्ष खेतीको प्रशोधनसम्बन्धि तालिम र अभिमूखीकरण गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

प्रदिप चन्द्र राई