तिहार अर्थात् यमपञ्चक-उज्यालो, उमंग र आत्मीयताको पर्व। झिलिमिली बत्तीले सजिएका घरहरू, मखमली र सयपत्रीको सुवास, देउसी–भैलोको लयमा गुन्जिरहेको गाउँ, र दाजुभाइ-दिदीबहिनीबीचको गहिरो स्नेह -यी सबैले नेपाली समाजको सांस्कृतिक आत्मालाई जोगाइरहेका थिए। तर विगतका ती रमाइला दृश्यहरू अहिले बिस्तारै स्मृतिमा मात्र सीमित हुँदै गएका छन्। यस वर्ष धेरै गाउँहरूमा तिहारको रौनक हराएको छ, गाउँका गल्लीहरू सुनसान छन् ।
विगतको उल्लास
केही वर्षअघिसम्म दशैँको टिका सुक्न नपाउँदै तिहारको तयारी सुरु हुन्थ्यो। घर लिपपोत गर्न, रंगोली बनाउन, बत्ती झुण्ड्याउन र फूलमाला गाँस्न सबै व्यस्त हुन्थे। बिहानैदेखि मखमली, सयपत्री, गोदावरी टिप्ने दौड, दिउँसो देउसीको ताल मिलाउने अभ्यास, र बेलुकी टोलभरिका युवायुवतीको सामूहिक गीत-संगीत – यिनै दृश्यले गाउँमा चाडपर्वको रंग भर्थ्यो ।
दिदीबहिनीहरू भाइटीकाको तयारीमा झन्झन् तल्लीन हुन्थे -माला गाँस्दै, सेलरोटी पकाउँदै, मिठाइ बनाउँदै। घरघरमा धूपबत्तीको सुगन्ध फैलिन्थ्यो, ढोकामा तोरण र रङ्गीचङ्गी बत्तीहरू टाँसिन्थे। सहर र विदेशबाट फर्किएका दाजुभाइ, छरछिमेकी, साथीभाइ सबै गाउँको हावामा रमाउँथे। गाउँ भनेको त्यो बेला एउटा साझा परिवारझैँ हुन्थ्यो — जहाँ सबैको मनमा एकै तालमा खुशीको लय बज्थ्यो ।
यस वर्षको सन्नाटा
तर अहिले त्यो दृश्य हराउँदै गएको छ। घरका दलिनहरूमा माला टाँस्ने हातहरू घटेका छन्, देउसी–भैलो गाउने स्वरहरू मौन भएका छन्। केही घरमा मात्र झिलिमिली बत्ती बल्छ, बाँकी गाउँ अँध्यारोमा हराएको देखिन्छ ।
‘अघिल्ला वर्षहरूमा टोलका सबै जम्मा भई देउसी खेल्थ्यौं, यसपालि खेल्ने साथी नै छैनन्,’ भन्छन् गाउँकी ६० वर्षीया एक आमा। अरूको मुखबाट पनि त्यस्तै गुनासो सुन्न सकिन्छ— फूल टिप्ने मान्छे छैनन्, गीत गाउने टोली छैन, नाच्ने जमात छैन।
यस वर्षको सन्नाटा केवल आवाजको अभाव मात्र होइन, संस्कृतिको मौनता हो। युवापुस्ता सहर र विदेशमा छन् — पढाइ, रोजगारी र भविष्यको खोजीमा। जसले गर्दा गाउँमा अहिले वृद्धवृद्धा र बालबालिका मात्रै बाँकी छन्। उनीहरूका लागि तिहार केवल टेलिफोन र भिडियो कलको माध्यमबाट आएको ‘वर्चुअल पर्व’ बनेको छ।
संस्कृति र आधुनिकता बीचको दूरी
सहरमा तिहार अझै चम्किलो छ — बत्तीले झिलिमिली पसल, मिठाईका आकर्षक प्याक, र गीत(संगीतले भरिएका साँझहरू। तर त्यो चमकले गाउँको मौलिकता ढाकिरहेको छ। देउसी–भैलोको सामूहिक आत्मा, सामुदायिक सहकार्य, र परम्परागत गीतहरूको धुन आधुनिक म्व् र पाश्चात्य शैलीको नृत्यले प्रतिस्थापन गर्न थालेको छ ।
गाउँको तिहार अब सामाजिक मेलमिलापको होइन, स्मृतिको विषय बन्दैछ। संस्कृतिको गहिरो मर्म बुझ्ने पुस्ता बिस्तारै हराउँदै छ। नयाँ पुस्ता तिहारलाई केवल बिदा वा सामाजिक मिडियामा फोटो पोस्ट गर्ने अवसरका रूपमा बुझ्न थालेका छन् ।
पर्वको मर्म र चुनौती
तिहार केवल भाइबहिनीबीचको स्नेहको पर्व होइन – यो प्रकृतिप्रतिको कृतज्ञता पनि हो। काग, कुकुर, गाई, र गोवर्धनको पूजा गरेर नेपालीहरूले सजीव संसारप्रति सम्मान प्रकट गर्छन्। तर जब मान्छे नै आफ्नो जरा छोड्दै शहरको भीडमा हराउँछ, तब यस्ता पर्वहरूको अर्थ पनि बिस्तारै हराउँदै जान्छ। आजको प्रश्न यही हो, यदि गाउँहरू यसरी सुनसान हुँदै गए भने, परम्परा कसले जोगाउने रु हाम्रो संस्कृति पुस्तान्तरण कसरी सम्भव हुनेछ ।
आशाको उज्यालो
तर, सबै कुरा निराशाजनक छैन। अझै पनि केही गाउँहरूमा युवाहरूले तिहारलाई जीवित राख्ने प्रयास गरेका छन्। उनीहरूले सामूहिक रूपमा देउसी–भैलो आयोजना गर्छन्, सामाजिक सञ्जालबाट गाउँ फर्किने अभियान चलाउँछन्, र बालबालिकालाई परम्परागत गीत सिकाउँछन्। हामी सबैले बुझ्नुपर्ने कुरा यो हो -तिहारको मर्म केवल बत्तीको उज्यालोमा होइन, सम्बन्धको उज्यालोमा निहित छ। त्यो उज्यालो पुनः गाउँघरमा फैलोस्, जसले हाम्रो पहिचानलाई बाँचाइराखेको छ। तिहार फेरि गाउँ फर्कियोस् , जहाँ सेलरोटीको बास्ना फेरि पसारियोस्, देउसीको स्वरले फेरि गाउँ गुन्जियोस्, र मखमली फूलले फेरि हाम्रा आँगन सजाओस्। साँच्चै, तिहारको उज्यालोले केवल सहरका भवनहरू होइन, हाम्रा गाउँका मनहरू पनि उज्यालो बनाओस् ।
प्रतिक्रिया