भोजपुर । रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीमा ससुरालीको ४ जनाको सामूहिक हत्या गर्ने ज्वाइँ राजेन्द्र राई आफैँ गम्भीर घाइते छन् ।
राजेन्द्रको पेटमा २ र ३ ठाउँ छुरीको चोट पाइएको छ । भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् ।
गएराति १ बजेतिर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका राजेन्द्रले ‘मैले चारजनालाई छुरी हानेर आएको छु । शायद मरिसके होलान्’ भन्दै हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो ।
‘पहिलेकी श्रीमतीले छाडेकी रछिन् । उनीहरूबीच प्रेम भएर केही महिनाअघि भगाएर ल्याएको बुझिएको,’ श्रेष्ठले भने ।
भोजपुर नगरपालिका–२ का राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ । एक महिनादेखि मनिषा माइतीमा थिइन् । राजेन्द्र ४÷५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए । तर, उमेर पनि नपुगेको भन्दै बुवाआमाले लैजान दिएनन् ।
राति सुतिरहेको बेला सासूले आक्रमण गरेपछि यस्तो भयानक घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मुचुल्का तयार पारेर चारैजनाको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल, भोजपुर लगिएको छ ।
सामूहिक हत्या गर्ने राजेन्द्र पनि घाइते, सुतेको ठाउँमा सासूले सुरुमा आक्रमण गरेको बयान
२०८२ असार २२, आईतवार ११:२४ गते

प्रतिक्रिया