खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को अन्वषण सम्पन्न गरेको छ । पूर्वी तराईमा पर्ने सप्तकोशीस्थित खुवालुङदेखि पहाडै पहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)सम्म सहजरुपमा पैदल यात्रा गर्न सकिने छोटो दूरीको पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको हो ।
सप्तकोशीको चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिनुभयो । “ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ । यो पदमार्गले तराई, पहाड र हिमाललाई समेट्छ”, उहाँले भन्नुभयो, “ग्रेटर मुन्दुम ट्रेललाई विश्वका पर्यटकहरुको ध्यान केन्द्रित गर्नेगरी नेपालकै पहिलो पर्यटकीय पदमार्ग बनाउने लक्ष्य राखिएको छ । यसका लागि पहिलो चरणमा गरिएको अन्वषण सफलता पूर्वक सम्पन्न गरेका छौँ ।”
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको समन्वयमा मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको अन्वषणका क्रममा पदमार्ग निर्धारण, यात्रा गर्न आउने पर्यटकहरुका लागि बास बस्न मिल्ने ठाउँ तथा ग्रेटर मुन्दुम ट्रेलका विशेषताहरुको पहिचान गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रवद्र्धन केन्द्रका अध्यक्ष राईको नेतृत्वमा गएको टोलीले अन्वषण सम्पन्न गरेलगत्तै म्याप (नक्सा) निर्माणको काम शुरु गरेको जनाइएको छ ।
अन्वषण टोलीले महाकुलुङ गाउँपालिकाको छेस्कामदेखि सर्वोच्च शिखर सगरमाथा बेस क्याम्पसम्म र त्यहाँबाट मुन्दुमी साँस्कृतिक स्थलहरु पाङबोचे, दिबुचे हुँदै लुक्ला विमानस्थल भएर काठमाडौँसम्मको रुट (मार्ग) तय गरेको छ । अन्वषण टोलीमा प्रवद्र्धन केन्द्रका अध्यक्ष राई, महाकुलुङ गाउँपालिकाका लेखा अधिकृत धर्मराज कुलुङ, संस्थाका पूर्वसचिव तथा सल्लाहकार श्यामसोहाङ राई, सिङ्गापुर पुलिसमा कार्यरत कुमार सामसोहाङ राई, होटल व्यवसायी विवेक कुलुङ राई, अभियान्ता भलाकाजी कुलुङ, माउन्टेन क्लाइबिङ एक्सपर्ट पदम कुलुङ लगायतको सहभागिता रहेको थियो ।
ग्रेटर मुन्दुम ट्रेलमा प्राकृतिक तथा भौगोलिक रुपमा तराईका समथर भूभागको तातो हावादेखि पहाडको चुचुरोको चिसो टुसारोसम्मको अनुभव गर्न सकिनेछ । कोशीटापुको अर्ना तथा वन्यजन्तुदेखि पहाडको घाँसे मैदानका चौरी तथा भेडा र हिमाली क्षेत्रका वन्यजन्तुका साथै पर्यावरणसँग रमाउन पाइने प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले बताउनुभएको छ ।
विश्वको कठिन ट्रेकिङ पास मानिने हुङछो, आमालाप्चा, आफुलाप्चा, पास (५,८५०) मिटर उचाइ पार गर्दै ३६० डिग्रीमा हिमालहरु अवलोक गर्न सकिने जनाइएको छ । सगरमाथा बेस क्याम्प (५,३६५) मिटरसम्म पुगेर आदिम किराती पुर्खाहरुले पछ्याएको पदमार्गको अनन्द लिन पाउन ग्रेटर मुन्दुम ट्रेलको अर्को विशेषता हुनेछ ।
सगरमाथा बेस क्याम्पसम्मको ट्रेक (यात्रा) गर्न चाहनेका लागि ग्रेटर मुन्दुम ट्रेल छोटो दूरीको वैकल्पिक मार्ग हुने पर्वद्धन केन्द्रले जनाएको छ । अहिलेसम्म लुक्ला हुँदै बेस क्याम्प पुग्ने र पुनः सोही बाटो भएर फर्कनुपर्ने अवस्था रहेकामा ग्रेटर मुन्दुम ट्रेल सञ्चालनमा आएपछि हुङछो, आमालाप्चा, आमफुलाप्चा पार गरेर हुङ्यो भ्याली हुँदै कोशीटापुसम्म पदयात्रा गर्न सक्ने जनाइएको छ ।
ग्रेटर मुन्दुम ट्रेल हुँदै सगरमाथा बेस क्याम्पसम्म ट्रेक गरेर लुक्ला हुँदै फर्कन सकिने रुट पत्ता लगाइएकाले पर्यटकहरुका लागि थप आकर्षण बढ्ने अनुमान गरिएको प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो । ग्रेटर मुन्दुम ट्रेलमा अपर मुन्दुम ट्रेल भ्रमण गर्दा नेपालका चर्चित पिकहरु मेरा पिक, नौलेख, चामलाङ, हुकुचुली । वरुण से लगायत दर्जनौँ हिमालहरु अवलोकन गर्न सकिने जनाइएको छ ।
साँस्कृतिक हिसाबले किरात समुदायको विशेष साँस्कृतिक स्थलहरु, प्राग ऐतिहासिक स्थलहरु, कला, साहित्य, सँगीत, चाडपर्व, रहनसहन, जनजीविका, स्थानीय खानपान र मौलिक वास्तुकलाहरु ग्रेटर मुन्दुम ट्रेलमा पर्दछ । जैविक विविधताका दृष्टिकोणबाट हेर्दा कोशीटापुको अर्नादेखि लिएर पहाडको रेड पाण्डा, हिमालयन थार, विभिन्न प्रजातिका वनस्पति, विविन्न प्रजातिका गुराँसहरु पाइने हुँदा पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्ने केन्द्रका अध्यक्ष राईले बताउनुभयो ।
प्रतिक्रिया